काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री सुधन गुरुङलाई हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार दिएको छ ।
आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले यस्तो अधिकार दिएको हो
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार रसुवा बाढीका कारण घाइते भएका र बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने निर्णय भएको छ । यस कामको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरको परिचालन गर्ने निर्णयल भएको छ ।
‘माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टरसहित परिचालन गर्न निर्देशन दिने’ निर्णय भएको मन्त्री खनालले संसद्लाई जानकारी दिएका हुन् ।
चीनतर्फबाट भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्याएको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बताएका छन् ।
बाढीले रसुवाका विभिन्न बजार र बस्तीसहित नुवाकोटका पनि विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंको अनुसार तुप्चे, ढुंगे, देवीघाट लगायतको क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ ।
‘बस्ती पूरै बगाएको छ, बैंक, पुल, बजार, बस्ती सबैमा क्षति पुगेको छ, इतिहासमै यति धेरै क्षति भएको थिएन । क्षतिको विवरण तत्काल आउँदैन, तर यति भन्छु यो इतिहासकै सबैभन्दा ठूलो क्षति हो ।’
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर केहीलाई उद्धार गरिएको उनले बताए । भने, ‘अझै धेरै जना बेपत्ता हुनुहुन्छ, उहाँहरूको खोजी भइरहेको छ ।’



