जनकपुरधाम – तराई-मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ शनिबारबाट विधिवत् रुपमा सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधिसँगै विधिवत् रुपमा छठ प्रारम्भ भएको हो ।
छठको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ । प्रायः बढीजसो महिलाहरूले मनाउने छठ पर्व प्रारम्भ भएसँगै चोखो चनाखो भएर सम्पूर्ण विधिहरू गर्नुपर्ने मान्यताअनुरुप आज ‘नहाय खाय’ विधि हुँदैछ ।
आजदेखि ब्रत बस्ने महिलाहरूले माछा, मासु, लसुन, प्याजसहित ब्रतमा प्रतिबन्ध गरिएका सामग्रीहरू नखाने मान्यता रही आएको बताउँछन् ।
छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिन्छ । जनकपुरधामसहित देशभरि तथा भारतीय राज्य विहारमा भव्यतापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोलि ब्रतालुहरुले रातिमा मिठा (सख्खर) मा बनाइएको खीर खाएको विधिलाई ‘खरना’ भन्ने गरिन्छ ।
नियम निष्ठा र विधिपूर्वक मनाईने साँझा सांस्कृतिको रुपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरूको जोहो र किन मेल गर्न सर्वसाधारण अहिले व्यस्त छन् ।
भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ति, ढकनी, चढाउने परम्परा रहेको पूर्व प्राज्ञ रामभरोष कापडि भ्रमर बताउँछन् । छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार ब्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ । तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’ भनिन्छ ।
पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरूमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने अघलाई ‘भोरका अर्घ’ भनिन्छ ।



