देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्री कृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सम्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥
भगवान् श्रीकृष्ण सम्पूर्ण मानव सभ्यताका लागि प्रेरणाको अमृत स्रोत, जीवनको रहस्य र धर्मको मूलभूत दर्शनका दाताको रुपमा स्थापित हुनुहुन्छ । द्वापर युगमा जन्मिएका यी युगपुरुष केवल एक ऐतिहासिक वा धार्मिक पात्र मात्र होइनन्, एक मार्गदर्शक, एक दार्शनिक, एक मित्र र एक क्रान्तिकारी व्यक्तित्व पनि हुन् । महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई प्रदान गरिएको भगवद्गीता को अमर उपदेश केवल त्यो समयका लागि सीमित थिएन, त्यो युगान्तर पार गर्ने दिव्य सन्देश थियो- जसले आज हजारौं वर्षपछि पनि मानिसको जीवनयात्रामा मार्गदर्शन गरिरहेको छ ।
श्रीमद्भगवद्गीता केवल पूजा कोठामा राख्ने पुस्तक होइन, बरु दैनिक जीवनमा उतार्ने जीवन सूत्र हो । जब हामी परिणामभन्दा कर्ममा ध्यान दिन सिक्छौँ, सुख-दुःखमा समान भाव राख्छौँ र ज्ञान, कर्म र भक्ति तिनैलाई मिलाएर अघि बढ्छौँ, तब जीवन वास्तवमै सन्तुलित र सार्थक बन्छ जसले कर्तव्य, निष्ठा र सत्यप्रति अडिगता बनाउँछ । यसले व्यक्ति मात्र होइन, समाज र राष्ट्रलाई पनि दीर्घकालीन स्थिरता दिन्छ ।
युग बदलिँदै जाँदा मानिसको जीवनशैली, प्रविधि र सोच बदलियो, तर कृष्णको उपदेश अझै ताजा र सान्दर्भिक छ । व्यवसायमा- गीता सिकाउँछ कि दीर्घकालीन सफलता कर्तव्यनिष्ठा र नैतिक आचरणमा निहित छ । शिक्षामा- आत्मअनुशासन र अध्ययनप्रति निष्ठा कृष्णीय दर्शनको प्रत्यक्ष अनुप्रयोग हो । सामाजिक जीवनमा- सहिष्णुता, प्रेम र सहयोगको भावको सार श्रीकृष्णले गीतामा दिनुभयो ।



