जनकपुर — मधेश प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेससहित सात दल गृहकार्यमा जुटेका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने छाँट देखेपछि बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले राजीनामा गरेपछि मधेशमा अर्को सरकार बनाउने रस्साकस्सी सुरु भएको छ ।
सात दलभित्र ठूलो दलको हैसियतले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गरेको छ । कांग्रेसले मुख्यमन्त्रीका लागि संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई अगाडि सारेको छ । कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन दलका नेता यादवलाई नै सबै दलसित वार्ता र संवाद गर्न जिम्मेवारी तोकिएको बताए ।
लोसपाले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । लोसपाका सांसद उपेन्द्र महतोले लोसपाका सांसद जितेन्द्र सोनलको नेतृत्वमा यसअघि बनेको सरकार थोरै समयसम्म रहेकाले फेरि सोनलकै नेतृत्वमा सरकार बन्नुपर्ने अडान रहेको बताए ।
बुधबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गरेका थिए । दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार अपराह्न ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको पत्रमा उल्लेख गरिएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए ।



