काठमाडौँ — अनिल साह र माज सदाकतले अर्धशतक बनाएपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । जनकपुरले मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्यो ।
अनिलले ३६ बलमा ६१ र सदाकतले ३० बलमा ६३ रन बनाएपछि जनकपुरले १ सय ७७ रनको लक्ष्य १७।३ ओभरमा १ सय ८० रन बनाउँदै पूरा गरेको थियो । आसिफ शेख १८ बलमा ३ चौका प्रहार गरी १८ रनमा आउट भएपछि यी दुई ब्याटरले खुलेर खेल्दै ३७ बलमा ७९ रनको साझेदारी गरेका थिए ।
प्लेयर अफ द म्याच अनिलले ३६ बल खेली ४ चौका र ३ छक्का तथा सदाकतले ३० बल खेली ६ चौका र ४ छक्का प्रहार गरे । यान निकोल लफ्टी इटन ११ रनमा आउट भए । आदित्य महता ७ बलमा २ चौका र १ छक्का प्रहार गरी १८ र सञ्जय कृष्णमुर्थी ५ रनमा अविजित रहे ।
जनकपुरमा नियमित कप्तान अनिलले पहिलो ३ खेलमा ५ रनमात्र बनाउन सकेका थिए । व्यक्तिगत कमजोर फर्म र जनकपुरले लगातार पराजय भोगिरहँदा अनिललाई अघिल्लो खेलमा प्लेयिङ ११ मा राखिएको थिएन । चितवनविरुद्ध टोलीमा फिर्ता बोलाइए पनि वायन पार्नेलले जनकपुरको कप्तानी गरेका थिए ।
साथै जनकपुरले ललित राजवंशी र किशोर महतोलाई बाहिर राख्ने ठुलो निर्णय गरेको थियो । यस सिजनको एनपीएलमा ललितले ४ खेलमा २ र किशोरले १ विकेटमात्र लिन सकेका थिए । अनिल र सचिनले उनीहरूको स्थान लिएका थिए ।
पहिलो चार खेल हारेको जनकपुरले यस जितपछि प्ले अफमा पुग्ने झिनो आशालाई कायमै बनाएको छ । चितवनले ५ मध्येको २ खेल जितेको छ भने ३ खेल हारेको छ । चितवनले अन्तिम खेल बिहीबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । गत वर्ष जनकपुरले उपाधि जिते पनि समूहचरणको खेलमा चितवनले जनकपुरलाई ३४ रनले पराजित गरेको थियो ।
यसअघि डेबिड मलान र अर्जुन साउदले पहिलो विकेटमा १ सय १२ रनको साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ७६ सय रन बनाएको थियो । सदाकतले खेलको पहिलो ओभर मेडन फाले पनि ६ ओभरको पहिलो प्लेमा ३८, १० ओभरमा ७६ रन जोड्दै चितवनले विशाल स्कोर बनाएको हो ।
एनपीएल इतिहासमा चौथो शतकीय साझेदारी र तेस्रो उच्च साझेदारी बनाउँदा मलान र अर्जुनले जनकपुरका फिल्डरले छाडेको आधा दर्जन क्याचको भरपुर फाइदा उठायो । त्यसमध्ये पहिलो खेल खेलिरहेका सचिन भट्टको बलमा अनिलले मलानको ३५ रनमा निकै सजिलो क्याच छाड्न पुगे । मलानले ५४ बलमा ८० रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे ।
लफ्टी इटनले १४ औँ ओभरमा अर्जुनलाई आउट गरी जनकपुरलाई पहिलो सफलता दिलाएका थिए । अर्जुनले ३९ बल खेली ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाए । सैफ जैब ७, रबि बोपारा ३ रनमा आउट भए । कप्तान कुशल मल्ल १४ बल खेली समान २ चौका र छक्का प्रहार गरी ३० र अमर १ रनमा अविजित रहे । जनकपुरका अनिल, रुपेश सिंह, सदाकत र लफ्टी इटनले १–१ विकेट लिए ।



