काठमाडौँ — पछिल्लो समय जेन–जी पुस्ता विद्रोही चरित्रका कारण विश्वभर चर्चाको शिखरमा छ । इन्टरनेटको युगमा हुर्किएको यो पुस्ताले राजनीतिक सत्ता परिवर्तनका लागि गरेको विद्रोहले विश्वको ध्यान खिचेको हो । सन् १९९८ देखि २०१२ सम्म जन्मिएकाहरूको यो जेन–जी पुस्ताले सत्ता परिवर्तन गरेको पछिल्लो उदाहरण नेपालको हो ।
यो पुस्ताले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, बेरोजगारीविरुद्ध सामाजिक सञ्जालमा ‘नेपोकिड/नेपोबेबी’ को ह्यासट्यागमा भन्डाफोर अभियान थालेका थिए । सोही समयमा सरकारले नेपालमा दर्ता नभएको भन्दै फेसबुकलगायतका विभिन्न सामाजिक सञ्जालको देशभित्र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयले उक्त अभियानलाई थप बल पुग्यो । अन्ततः सामाजिक सञ्जालको विद्रोह सडक उत्रियो ।
नेपालमा जस्तै जेन–जी विद्रोह अन्य कुन–कुन देशमा भए ? वा भइरहेका छन् र त्यहाँको वर्तमान अवस्था कस्तो छ ?
मोरोक्को
उत्तर अफ्रिकी मुलुक मोरोक्को पनि पछिल्लो समय विद्रोह भइरहेको मुलुक हो । मोरोक्कोमा गत २७ सेप्टेम्बरबाट यसको थालनी भएको हो । ‘जेन–जी २१२’ नामक ‘डिस्कोर्ड’ समूहले गरेको यो आन्दोलन अझै जारी छ । त्यहाँको भ्रष्टाचार, बेरोजगारीका विरुद्ध युवाले सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै आएका थिए । त्यहाँका जनताले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि भोग्दै आएको असन्तोष नै विद्रोहको मुख्य कारण बन्न पुग्यो । स्वास्थ्य र शिक्षामा लगाउनुपर्ने राज्यको बजेट २०३० मा हुने भनिएको विश्वकप फुटबलका संरचनामा लगाउने कदमको विरोधमा युवा सडकमा उत्रिए ।

पेरु
मोरोक्कोभन्दा केही समयअघि ल्याटिन अमेरिकी मुलुक पेरुमा पनि जेन–जीहरूले आन्दोलन गरेका थिए । पेरुमा बढ्दो आर्थिक असमानता तथा सरकारको असफलताका कारण जेन–जीहरू सरकारसँग रुष्ट थिए ।
२० सेप्टेम्बरमा तत्कालीन सरकारले पेन्सन सुधारसम्बन्धी विधेयक पारित गरेको थियो, जसमा १८ वर्ष पूरा भएका युवाले आफ्नो आम्दानीको केही हिस्सा अनिवार्य रूपमा पेन्सनको खातामा जम्मा गर्नुपर्ने अनिवार्य सर्त राखिएको थियो । पेरुमा ६० देखि ७० प्रतिशत युवा अस्थायी रोजगारीमा निर्भर छन् । उनीहरूलाई प्रत्येक महिना पेन्सनका लागि योगदान गर्न गाह्रो पर्छ । तर, राज्यले अस्थायी जागिर भएकालाई पनि पेन्सनमा अनिवार्य योगदान गर्न भनेपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए ।

केन्या
२०२४ जुनमा केन्यामा हजारौं नागरिक सडकमा उत्रिए । उनीहरू सरकारद्वारा प्रस्तावित कर वृद्धिसम्बन्धी विधेयकको विरोधमा थिए । उक्त विधेयकले दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरू ‘ब्रेड’, ‘डायपर’ देखि शौचालयमा प्रयोग हुने सामग्रीमा कर बढाउने मनसाय राखिएको थियो । सामाजिक सञ्जाल विशेषगरी ‘एक्स’ र ‘टिकटक’ मार्फत युवाले एकअर्कालाई अर्थ विधेयकका प्रावधानबारे जानकारी दिंदै सरकारविरुद्ध आन्दोलन सुरु गरे । यो आन्दोलनलाई ‘जेन–जी विद्रोह’ नाम दिइयो ।

फिलिपिन्स
फिलिपिन्समा पनि ‘नेपो किड्स’ ट्रेन्ड चलाइएको थियो । सामाजिक सञ्जालमा जेन–जीहरूले त्यहाँका भ्रष्टाचारविरुद्ध सामाजिक सञ्जालमा विरोध जनाउँदै आएका थिए । तर २१ सेप्टेम्बरले उनीहरूको आन्दोलनलाई बल पुग्यो । २१ सेप्टेम्बरमा मनिलाको रिजाल पार्क (लुनेटा) र क्वेजोन सिटीको ईडीएसए पिपल पावर मोनुमेन्टमा भएको ‘ट्रिलियन पेसो मार्च’ मा १ लाख ३० हजारभन्दा बढी प्रदर्शनकारी सहभागी थिए । यो आन्दोलनको थालनी १२ सेप्टेम्बरमा नै भएको थियो । विद्रोहको मुख्य कारण जुलाई २०२५ मा राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले आफ्नो राष्ट्रिय सम्बोधनमा भ्रष्टाचारबारे खुलासा गरेका थिए ।

इन्डोनेसिया
सांसदहरूलाई मासिक पाँच करोड इन्डोनेसियन रुपैयाँ (लगभग तीन हजार अमेरिकी डलर) भत्ता दिने निर्णयले इन्डोनेसियाका युवा पनि आक्रोशित थिए । त्यसको विरोधमा जेन–जीहरूले सामाजिक सञ्जालमा ‘नेपोकिड्स र नेपोबेबी’ अभियान सुरु गरे । जसमा सांसदहरूको विलासिता र आमनागरिकको दुःखलाई तुलना गरेर व्यंग्य गरिन्थ्यो । अन्ततः सामाजिक सञ्जालको विरोध २५ अगस्ट २०२५ देखि सडकमा पोखियो ।



