पर्सा — पर्सामा एक साता यता वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा झाडापखाला र हैजाका बिरामीको संख्या ७ सय १२ पुगेको छ । तीमध्ये ५ सय १७ बिरामी निको भएर डिस्चार्ज भई घर फर्किसकेका छन् ।
१ सय ९५ बिरामी अझै विभिन्न अस्पतालमा उपचाररत छन् । स्वास्थ्य कार्यालय पर्साले शनिबार बिहान प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको तथ्याङ्कअनुसार, हालै मात्र ७७ नयाँ बिरामी स्वास्थ्य संस्थाहरूको सम्पर्कमा आएका छन् । हाल ३३ जना बिरामी आइसियुमा, ४ जना एचडीयूमा र १ सय ५८ जना सामान्य वार्डमा उपचाररत छन् ।
हालसम्म पर्सामा आरडिटी परीक्षणबाट १ सय ६२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । हैजा पुष्टि भएकामध्ये १ सय १ जना उपचारपछि डिस्चार्ज वा अन्यत्र रिफर भएका छन् । ६२ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।
विज्ञप्तिअनुसार, साउन २८ देखि वीरगन्जको तराई अस्पतालमा झाडापखालाका बिरामी देखिन थालेका थिए । भदौ ५ गते पहिलो पटक उनीहरूमा हैजाको संक्रमण पुष्टि भएको थियो । लगत्तै स्थानीय तह, संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेस प्रदेश स्वास्थ्य निर्देशनालय, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ, आइएफआरसी लगायतका निकायहरूसँग समन्वय गरी नियन्त्रणका प्रयासहरू जारी छन् । जनचेतनामूलक कार्यक्रमहरू जस्तै रेडियो सन्देश, रिक्सा माइकिङ र घरदैलो अभियान सञ्चालन गरिएको छ ।
भदौ ७ गते स्वास्थ्य कार्यालयको पहलमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीहरूको बैठकले २२ वटा टोली जनचेतना र ५ वटा टोली तथ्याङ्क सङ्कलनका लागि गठन गरेको थियो । मधेस प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रबाट आरडिटी किट र औषधिहरू प्राप्त भई अस्पताल र स्थानीय तहमा वितरण गरिएको छ । थप किट र औषधिका लागि समन्वय भइरहेको छ । प्रकोपको कारण पत्ता लगाउन पानीका नमुनाहरू सेन्ट्रल ल्याबमा पठाइएको छ ।



