मैथिलीमा ‘झुला’ भन्नाले कसैलाई पिङमा राखेर अगाडि–पछाडि हलाउनु वा झुलाउनु भन्ने अर्थ लाग्छ । सामान्यतया यो काम बालबालिकालाई भुलाउन गरिन्छ । त्यस्तै झुलनोत्सवको उत्सवले जानकीप्रति मातृभाव र स्नेह तथा रामप्रति ज्वाइँको रुपमा सम्मान प्रकट गर्छ । केही मान्यताअनुसार, सीता–रामलाई साथीका रूपमा सम्झेर साथीसँगीहरूले पनि झुला झुलाउने चलन छ । यसैले यस पर्वलाई ‘झुला उत्सव’ वा ‘झुलनोत्सव’ भनिन्छ । यो मिथिलाञ्चलभरी एक महिनासम्म चल्छ । यो पर्व साउन महिनाको शुक्ल तृतीयादेखि शुरु भएर पूर्णिमासम्म मनाइन्छ । यस वर्षको झुल्नोत्सव अघिल्लो हप्ताको आइतबार साँझदेखि शुरु भएको हो ।
जब कुनै घरमा छोराछोरी जन्मिन्छिन्, आमाबुबाले उनलाई झुलामा राखेर झुलाउने, माया गर्ने परम्परा हुन्छ । यही भावनालाई आधार मानेर जनकपुरको जानकी मन्दिरमा जन्मिएकी जानकी अर्थात् सीता माताप्रति विशेष वात्सल्य माया प्रकट गर्न यो पर्व मनाइन्छ ।
यस अवसरमा जानकीलाई छोरीझैं झुलामा राखेर झुलाइन्छ, अनि उनका श्रीमान् रामलाई ज्वाइँको रुपमा सम्मान र स्नेह देखाइन्छ ।
झुलनोत्सवसँग जोडिएको मणि पर्वतको कथा
मणि पर्वतसँग जोडिएको एउटा रोचक किंवदन्ती छ । जानकी मन्दिर नजिक रहेको यो ठाउँमा, जानकीको विवाहको बेलामा अयोध्याबाट राजा दशरथले थुप्रै बहुमूल्य उपहारहरू–मणि, मानिक्य, सुनचाँदी ल्याएका थिए । ती उपहारहरू एउटै ठाउँमा राखिँदा पर्वतजस्तै ठूलो थुप्रो बनेको थियो र ती मणिहरू चम्किने भएकाले त्यस ठाउँलाई ‘मणि पर्वत’ भनिएको हो । ऋहिले पनि जनकपुरधामको वडा नम्बर १३ मा मणि पर्वत अवस्थित छ, जसलाई ‘मणि मण्डप’ पनि भनिन्छ ।
पहिलेको समय झुलनोत्सवको अवसरमा मणि पर्वतमा हात्ती र घोडाको दौड प्रतियोगिता हुने गर्थ्यो। झन्डै १२ विघा क्षेत्रफलमा फैलिएको यो दौड प्रतियोगितामा विजयी हात्ती वा घोडालाई जानकी मन्दिरबाट पुरस्कार दिइन्थ्यो । त्यो प्रतियोगिता हेर्न भारतबाट समेत पर्यटकहरू आउँथे र लाखौं भक्तजन जानकी मन्दिरमा पूजापाठ गर्न भेला हुन्थे ।
पूर्णिमाको दिन मणि पर्वतमा विशेष मेला लाग्थ्यो । अहिले यही ठाउँमा सङ्घीय सरकारको १८ करोड रुपैयाँ सहयोगमा ‘सीता विवाह मण्डप’ निर्माण गरिएको छ, जसले यो क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई अझ बढाएको छ ।
जनकपुरधाममा रहेको मणि पर्वत झुल्नोत्सवसँग गहिरो रूपमा जोडिएको ऐतिहासिक र धार्मिक स्थल हो । झुलनोत्सवको पहिलो दिन जनकपुरका सबै मठ–मन्दिरहरूबाट राम–जानकीका प्रतिमाहरू शोभा यात्राको रूपमा निकालिन्छन् र ती सबैलाई मणि पर्वतको खुला चौरमा ल्याएर एकै ठाउँमा भेला गरिन्छ । यस अवसरमा एक–आपसमा आत्मीयता बाँड्ने, भजन–कीर्तन गाउने परम्परा पनि छ ।
मणि पर्वतको समारोहपछि साँझ सबै साधु–सन्त र भक्तजनहरू आ–आफ्ना मठमन्दिर फर्कन्छन् । हरेक मन्दिरमा पहिलेबाटै विशेष रूपमा सजाइएको झुला तयार गरिएको हुन्छ । ती झुलाहरू फूल, माला र झिलिमिली बत्तीले आकर्षक तरिकाले सजाइन्छन् ।
मणि पर्वतबाट फर्किएपछि देवी–देवताका प्रतिमाहरू ती झुलामा राखिन्छन्, र पहिलो दिन साँझ हर्ष–बधाईका गीत गाइन्छन् । त्यसपछि राम–सीताको प्रतिमालाई पुनः सिंहासनमा स्थापना गरिन्छ । यो प्रक्रिया दैनिक १५ दिनसम्म दोहोरिन्छ ।
मिथिलाञ्चलमा ५२ वटा कुटी (मठ) छन् । पहिलेको समय यी सबै कुटीमा ‘कुटी नाच’ हुने चलन थियो, र सांस्कृतिक कार्यक्रमहरू पनि गरिन्थे । भक्तजनहरू सबै कुटी घुम्दै नाच हेर्न जान्थे । अहिले भने कुटीहरूमा सहभागिता कम देखिन्छ, तर साँझपख अझै पनि झुला झुलाउने परम्परा कायम छ ।
झुलनोत्सवको बेला हरेक साँझ फरक–फरक समूहले नाचगान प्रस्तुत गर्छन्, र यो कार्यक्रम एक महिनासम्म चल्ने गर्छ ।
मिथिलाञ्चलका अन्य मठ–मन्दिरहरूमा पनि यसै गरी झुल्नोत्सव मनाइन्छ । केवल राम–सीता मात्र नभई, जस–जसका मन्दिर छन्, ती सबै देवी–देवताका प्रतिमाहरूलाई पनि झुलामा राखेर झुलाइन्छ ।
यस उत्सवमा साधु–सन्तदेखि सबै स्थानीय बासिन्दाले पारम्परिक झुला गीत गाएर, नाचेर, रमाइलो गरेर पर्वको उल्लास मनाउने परम्परा छ ।
झुलनोत्सवको अन्तिम दिन पूर्णिमाको अवसरमा झुलाको डोरी काटेर पर्वको विधिवत् समापन गरिन्छ । यो दिन विशेष उत्सवको रूपमा मनाइन्छ ।
नेपाली समाजमा छोराछोरी वा चेलीबेटीलाई स्नेह प्रकट गर्न झुलामा झुलाउने परम्परा पनि माया देखाउने एक महत्त्वपूर्ण पक्ष हो । जब साना बालबालिका रून्छन् वा उनीहरूलाई रमाइलो गराउनुपर्छ, त्यतिबेला झुला झुलाउने चलन व्यापक रूपमा प्रयोग हुन्छ । साथी–सङ्गीतहरूबीच झुल्ने वा पिङ खेल्ने चलन पनि यही परम्पराको भाग हो ।
यसरी झुलनोत्सव केवल धार्मिक मान्यता मात्रै होइन, यो मिथिला संस्कृतिको अभिन्न अङ्ग पनि हो । आफ्नी छोरी, सखी वा ज्वाइँलाई झुलामा राखेर माया–स्नेह देखाउने भाव मिथिला क्षेत्रमा विशेष रूपमा पाइन्छ ।
यदि यही भावना र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सकियो भने, यो पर्व विश्वभरिका पर्यटकलाई आकर्षित गर्न सक्ने सामथ्र्य राख्छ । झुलनोत्सवलाई पर्यटनसँग जोड्न सके, यसले स्थानीय संस्कृति, अर्थतन्त्र र पहिचान तीनवटै पक्षलाई लाभ दिन सक्छ ।
मिथिलाका यस्ता मौलिक संस्कृति र उत्सवहरूलाई संरक्षण गर्दै पर्यटन उद्योगसँग समायोजन गर्न सकियो भने सम्पूर्ण क्षेत्र लाभान्वित हुनसक्छ ।
मैथिली विषयका उपप्राध्यापक तथा मिथिला संस्कृतिका ज्ञाता–श्यामसुन्दर शशि



