यी तस्बीर तपाईं पक्कै नाङ्गो आँखा र सद्दे मनले हेर्न सक्नुहुन्न । किनभने यसले तपाईंको मस्तिष्कमा कार्टिसोल हर्मोन बढाउनेछ र दिमागलाई विचलित बनाउनेछ ।
अब सोच्नुहोस् त, जुन तस्वीर हेर्दा मात्र तपाईंलाई चक्कर लाग्न थाल्छ त्यो भोग्ने प्राणीलाई कस्तो हुँदो हो ?
साँघुरो ट्रकमा कोचिएका छन्, नाक र पुच्छरमा डोरी बाँधिएका छन्, हलचल गर्नै नसक्ने अवस्थामा छन् । यसरी नै निस्सासिएर यिनीहरूले तीन–चार दिनसम्मको यात्रा गर्नुपर्ने हुन्छ । यसमा कतिसम्म क्रुरता हुन्छ भने, बस्न नदिनका लागि पुच्छर र नाथ्रीमा बाँधेर झुड्याइँन्छ । तीन–चार दिनसम्म उँभिदा खुट्टा कति गल्छ होला ? तर बस्न खोजेमा यौनाङ्गमा लठ्ठी घुसारिन्छ । निदाउन नदिन आँखामा खैनी र खोर्सानी लगाइन्छ ।
न आरम, न खाना, न पानी । मृत्युभन्दा कठोर जीवन झेल्दै यी अबोध प्राणीहरू काठमाडौंसम्म आइपुग्छन् । यिनीहरूलाई काठमाडौंबासीले आफ्नो आहारा बनाउँछन्, मासुको रुपमा । यसरी मासुका लागि काठमाडौंमा दैनिक औसत एक हजार वटा राँगाभैंसी यातनापूर्वक ढुवानी गरिन्छ । र, बर्बर हत्या गरिन्छ ।



