जनकपुरधाम ।मधेस प्रदेशका सांसद सरोज कुमार सिंह कुशवाहालाई निलम्बन गरिएको छ ।
आफ्नो स्वकीय सचिव मार्फत उपभोक्ता समितिको खाताबाट रकम झिकेर निजी खातामा राख्न लगाएर आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेपछि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसभा सचिवालय पठाइएको निलम्बनसम्बन्धी पत्र सभामुख रामचन्द्र मण्डलले शुक्रबार प्रदेशसभामा पढेर सुनाएका हुन् ।
विषेश अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि सिंहलाई बिहीबार काठमाडौंबाट आयोगको टोलीले पक्राउ गरेकाे थियाे। जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित भएका थिए ।
आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको खातामा दाखिला भएको रकम निजी सचिव विनोदलाल कायस्थ मार्फत निजी खातामा जम्मा गर्न लगाएको अख्तियारको ठहर छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई पक्राउ परेका छन् । अख्तियारको टोलीले काठमाण्डुको अनामनगरबाट बिहीबार उनलाई पक्राउ गरेको हो ।
सांसद कुशवाहा केही दिनदेखि काठमाण्डुमा नै रहेका थिए । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा दोस्रो पटक निर्वाचित सांसद कुशवाहामाथि सरकारी योजनाहरु बिक्रीगरि भ्रष्टाचार गरेको आरोप लागेको छ ।
योजनाहरुको काम भइरहेको बेला जेठ १२ गते अख्तियारको टोलीले महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको सरपल्लोस्थित उनको घरमा छापा मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका थिए ।
अनुसन्धान अधिकारीहरुले कुशवाहाको घरबाट विभिन्न योजनाहरुको कागजात समेत नियन्त्रणमा लिएको थियो । सांसद कुशवाहाले प्रयोग गर्ने मोबाइल समेत अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । मधेश सरकारको योजना खरिद बिक्री गरेको आरोपमा उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको थियो ।
स्वकीय सचिव कायस्थ पक्राउ परेको १७ दिनपछि कुशवाहालाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् । सांसद कुशवाहाले आफ्नो भागमा परेको योजनाहरु बिक्री गरेको आरोप लागेको छ । विभिन्न उपभोक्ता समिति गठन गरेको देखाइ समितिका खातामा दाखिला भएको रकम स्वकीय सचिव कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको खातामा राखेको अख्तियारको कथन छ ।
सांसद सिंहको मोबाइलबाट कारोबारको विस्तृत जानकारी खुलेको स्रोतहरुले जनाएका छन् । उनले मोबाइल बैकिंग कारोबार गरिरहेका थिए । जेठ १२ गते अख्तियारको टोलीले स्वकीय सचिव कायस्थलाई पक्राउ गरे पनि सांसद सिंहको मोबाइल लगायतका उपकरण र कागजातहरु नियन्त्रणमा लिएपनि उनलाई नियन्त्रणमा लिएको थिएन् ।
सांसद सिंहले आफूसित अख्तियारको टोलीले भेटेको र मोबाइल मात्र लिएर गएको बताएका थिए । कुशवाहाले गत चैतको २७ गते प्रदेशसभा बैठकमा योजना बिक्री र भ्रष्टाचार लगायतका सवालहरुमा बोलेका थिए ।
मधेश प्रदेशमा योजनाहरु बिक्री भएको छानबिन गर्न प्रदेश सभाले संसदीय छानबिन समिति गठन गरेको छ । अघोषित रुपमा प्रदेश सरकारले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई जनही डेढ करोड रुपैयाँ बराबरको योजनाहरु वितरण गरेको छ ।
ती योजनाहरु नै उपभोक्ता समिति मार्फत काम गराउने गरी १० प्रतिशत कमिसन लिएर बिक्री गरिएको आरोप लाग्दै आएको छ । १० प्रतिशत रकम एडभान्स लिएर योजनाको उपभोक्ता समिति गठन गर्ने सरकारी पत्र मात्र दिने गरिएको हो । योजना बिक्रीको विषय उठेपछि विपक्षी दलहरुले संसदीय छानबिन समिति गठनको माग गरेका थिए ।
मधेश प्रदेशमा सरकारी योजनाहरु ठेकदारले खरिद गरी उपभोक्ता समिति गठनको प्रक्रिया पूरा गर्दै काम गरेको देखिन्छ । उपभोक्ता समितिले खोलेको खातामा काम सम्पन्न भएपछि भुक्तानी हुने भए पनि त्यो रकम ठेकदारले नै झिक्ने गरेको बताइन्छ । उपभोक्ता समितिको अध्यक्ष र कोषाध्यक्षबाट पहिले नै चेक ठेकदारले लिइसकेको हुन्छ ।



