राजतन्त्रको माग राख्दै विगत केही समयदेखि राजवादी सडकमा आन्दोलनरत छन्। गणतन्त्र खारेजको माग राख्दै गरेको उनीहरूको आन्दोलनमा राप्रपा, पूर्व राजवादी र अन्य कतिपयले सहभागिता जनाउँदै आएका छन्।
यस्तोमा गणतन्त्रवादीले पूर्व युवराज पारस शाहलाई देखाउँदै भविष्यको राजा यस्ता पनि हुन सक्छन् भन्दै व्यङ्ग गर्न थालेका छन्। यसमा कतिपय राजवादीले भने पारस नभए ज्ञानेन्द्रपछि सिधै हृदयन्द्रलाई राजा बनाउन सकिने तर्क राखेका छन्।
त्यस्तै तर्क राख्ने मध्येका एक हुन् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापा। उनी यति बेला राजसंस्था स्थापना आन्दोलनमा होमिएका छन्।
‘नागरिक फ्रन्टलाइन’ को बुधबारको संस्करणमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग थापाले गरेको कुराकानीमा उनले सहमति हुन्छ भने हृदयन्द्रलाई उत्तराधिकारीका रूपमा कायम गर्न सकिने धारणा राखेका छन्।
‘स्वाभाविक रूपले ज्ञानेन्द्र नै हो। शाहवंशीय राज परम्पराको अहिलेको उत्तराधिकारी भनेकै ज्ञानेन्द्र नै हुन्।’ राजा आउने भए भने को हो अबको राजा? भन्ने प्रश्नमा उनले थपे, ‘ज्ञानेन्द्र राजा भइसकेपछि सबै राजनीतिक दलहरूका बिचमा सहमति हुन्छ भने र स्वयं राजाको पनि सहमति हुन्छ भने नाति नवयुवराज हृदयन्द्रलाई उत्तराधिकारीका रूपमा कायम गर्न सकिन्छ।’



